काठमाडौं, १ असोज । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारीमा रहेको यस कम्पनीले विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर छुट्याएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।