काठमाडौं, २ असोज । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासको आधिकारिक फेसबुक पेजमार्फत आज राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।
साथै आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ ।
आजै दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ता गरेर नेपालमा शान्ति र स्थायित्व कायम गर्न भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।