काठमाडौं, २ असोज । गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे । सो क्रममा उनले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताए ।
गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन–जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पु¥याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताए ।
अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भने, ‘ आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो ।
म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउनुहुँदै कानुन बमोजिम कर्तव्य पालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए । आम जनताहरूमा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनस्र्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवम् गृहमन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढिकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उनले उल्लेख गरे ।
प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उनले व्यक्त गरे ।