काठमाडौं, ३ असोज । चालू आर्थिक बर्ष (आव) २०८२८३ को पहिलो २ महिनामै नेपालमा साढे ३५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आवको साउन र भदौमा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा २५३ उद्योगका लागि ३५ अर्ब ५९ करोड ५४ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही महिनाको तुलनामा १७९ दशमलव ८६ प्रतिशतले बढी हो । गत आवको भदौसम्ममा यस्तो प्रतिबद्धता १२ अर्ब ७१ करोड करोड ८६ लाख रुपैयाँ मात्रै आएको थियो ।
भदौसम्ममा अप्रुभल रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो महिनामा अप्रुभल रूटबाट ९२ उद्योगका लागि ३१ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट १४३ उद्योगका लागि १ अर्ब ३६ करोड ८२ लाख र शेयर खरिदबाट १७ उद्योगमा २ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस वर्षको २ महिनामा आएको लगानी प्रतिबद्धतामध्ये ६५ प्रतिशत कृषि क्षेत्रमा छ । विभागका अनुसार भदौसम्ममा कृषि क्षेत्रका २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ, यो प्रतिबद्धता आए यस क्षेत्रका ९ वटा उद्योग स्थापना हुनेछन् । गत वर्षको सोही अवधिमा यस क्षेत्रमा प्रतिबद्धता नै आएको थिएन ।
कृषिपछि विदेशी लगानीकर्ताको आकर्षण पर्यटन क्षेत्रमा रहेको छ । २ महिनामा यस क्षेत्रका ७९ उद्योगका लागि ६ अर्ब ६९ करोड २० लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । गत वर्षको सोही अवधिमा यस क्षेत्रमा २८ करोडको मात्र लगानी प्रतिबद्धता आएको थियो ।
कुन क्षेत्रमा कति लगानी ?

चालू आवको भदौसम्ममा २२५ वटा साना उद्योग, ४ वटा माझौला उद्योग र ७ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३३ हजार ८१४ जनाले रोजगारी पाउनेछन् ।
सुरुदेखि चालू आवको भदौसम्म विदेशी लगानीकर्ताले ७ हजार ४७५ उद्योगका लागि ६ खर्ब ८४ अर्ब ५१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ लाख ५९ हजार १८१ जनाले रोजगारी पाउनेछन् ।