काठमाडौं, ५ असोज । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनामै झण्डै डेढ लाख नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।
वैैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको साउन र भदौमा वैदेशिक रोजगारीका लागि १ लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १६ दशमलव २४ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा १ लाख १७ हजार ६८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।
चालू आवको साउनमा ६८ हजार १ सय १० जना र भदौ महिनामा ६७ हजार ९ सय ७२ जना कामको खोजिमा विदेश गएका हुन् ।
दुई महिनामा १ लाख १८ हजार ८७१ पुरुषले विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन गत आवको भदौसम्मको तुलनामा १६ दशमलव ३१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ लाख २ हजार २०० पुरुषले श्रम स्वीकृति लिएका थिए ।
गत वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या १५ दशमलव ७५ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा १४ हजार ८६८ महिलाले श्रम स्वीकृति लिएकोमा चालू आवको भदौसम्ममा १७ हजार २११ महिलाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
९० हजार बढीले लिए नयाँ श्रम स्वीकृति
विभागका अनुसार साउनमा नयाँ श्रम स्वीकृति लिएर ९० हजार १९८ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये महिला ११ हजार ७०७ र पुरुष ७८ हजार ४९१ जना छन् ।
यस्तै संस्थागतबाट ५९ हजार ५३३ पुरुष र ५ हजार २९८ महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । भदौसम्ममा व्यक्तिगततर्फबाट १७ हजार ४११ पुरुष र ६ हजार ११६ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फबाट पुनः श्रम स्वीकृति लिएर ४५ हजार ८८४ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत १ हजार ७६५ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्ललेख छ ।
कुल श्रम स्वीकृतिको ३६ प्रतिशत युएईका लागि
पछिल्लो समय युएईमा नेपालीको आकर्षण बढ्दै गएको देखिन्छ । दुइ महिनामा १ लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिँदा ४९ हजार ४५६ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल श्रम स्वीकृतिको ३६ दशमलव ३४ प्रतिशत हो । साउनमा ४२ हजार ६५७ पुरुष र ६ हजार ३५९ महिलाले श्रम स्वीकृति लिएर युएई गएका छन् ।
नेपाली युवा रोजगारीका लागि युएईपछि सबैभन्दा धेरै कतारमा गएका छन् । यस देशका लागि साउनमा ३० हजार ८६५ पुरुष र १ हजार ९०७ महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरबका लागि लागि २० हजार ८६, मलेसिया जान १० हजार ७५८ र कुवेतका ७ हजार ७६६ जनाले श्रम स्वीकृति लिएका छन् ।