काठमाडौं, २१ असोज । चालू आर्थिक वर्ष (सन् २०२६) मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेटले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको हो । यो प्रक्षेपण अन्य दक्षिण एसियाली मुलुकको तुलनामा कम हो ।
तयस्तै १.५ देखि २.६ प्रतिशत संकुचनको सम्भावना पनि विश्व बैंकले औँल्याएको छ । २०२५ मा वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४.७ प्रतिशत हुने अपेक्षा गरिएको छ ।
हालैको ‘जेनजी’ आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो परिस्थितिलाई निहाल्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर घटाएको हो । पछिल्ला असन्तुष्टि र बढ्दो राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण आर्थिक वृद्धि घट्ने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।
विदेशी पर्यटकीय आगमन घट्ने र प्रदर्शनका क्रममा भएको भौतिक संरचनामा क्षतिले बीमा क्षेत्रलाई असर गर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, लगानी मनोभावना कमजोर हुँदा निजी क्षेत्रको लगानी र गैर जलविद्युतीय निर्माणमा असर गर्नेछ । समयमै वर्षात् नभएको हुँदा धान उत्पादन हुने प्रदेशमा असर गरेकाले कृषि क्षेत्रमा पनि यसको असर पर्ने विश्व बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।
साथै पुनर्निर्माणलाई अगाडि बढाउने सरकारी प्रतिबद्धता र सक्रियताले आगामी आर्थिक वर्ष र त्यसपछिको वर्षमा आर्थिक सुधार हुने र तयसपछिको वर्षमा आर्थिक वृद्धिले गति लिने विश्व बैंकको अपेक्षा छ ।

चालू आवमा दक्षिण एसियाली क्षेत्रको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण छ । यो पनि यसअघिको प्रक्षेपणभन्दा कम हो । सन् २०२४ मा दक्षिण एसियाको समग्र कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.४ प्रतिशत थियो । यस वर्ष थोरै वृद्धि भएर ६.६ पुग्ने अनुमान छ । त्यस्तै २०२६ मा ५.८ प्रतिशत मात्रै वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । त्यसपछि सन् २०२७ मा भने पुनः ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ ।