काठमाडौं, २२ असोज । हाल सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव र बाँकी भू–भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।