काठमाडौं, २२ असोज । नेपालले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।
बुधबार विहान बायुमास क्रिकेट ओभलमा भएको पाँचौं तथा निर्णायक खेलमा ५ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ ले जितेको हो ।
अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । यस्तै पुजा महतोले २३, रुविना क्षेत्रीले नटआउट १५, कविता कुवँरले १४ र सम्झना खड्काले १३ रनको जोडिन् ।
मलेसियाको लागि ऐना हामिजाह हाशिम, नुर डानिया स्युहादा, ऐसया एलिसा फिर्दौज, माहिराह इज्जाती इस्माइल र नुर अल्या बार्रिसियाले समान एक/एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।
नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।
यसअघि दुई टोलीबीच भएको पहिलो र तेस्रो खेलमा मलेसिया ३ र १३ रनले विजयी भएको थियो भने दोस्रो र चौथो खेलमा नेपाल समान ६ विकेटले विजयी भएको थियो ।