काठमाडौं, २४ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र जापानबीचको खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार साँझ ४ः१५ मा शुरु हुने छ ।
नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरिसकेका छन् । बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ विकेटले हराएसँगै जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन् । लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो । आज नेपाल र जापान बीचको भिडन्त समूह विजेताको लागि हुनेछ ।
९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अर्को समूहबाट आएका ४ टोलीसँग प्रतिस्पर्धा हुनेछ । आफ्नो समूहबाट गएको टोलीसँग भने सुपर सिक्समा प्रतिस्पर्धा हुनेछैन ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी