काठमाडौं, २४ असोज । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले ’पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिने’ नबताएको स्पष्टीकरण दिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै आईजीपी खापुङले सञ्चारमाध्यममा ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिने चेतावनी दिएकोसम्बन्धी समाचार आएको भन्दै त्यसको खण्डन गरेको हो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत भएको सुरक्षा बैठकमा यस्तो विषयमा कुनै कुरा आईजीपी खापुङले नगरेको बताइएको छ ।
‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
