काठमाडौं, २६ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हाल विभिन्न क्षेत्रका ७५ कम्पनीको आईपीओ पाइपलाइनमा छन् । यी कम्पनीले कुल ३७ करोड ५४ लाख २० हजार ३५३ कित्ता शेयर जारी गर्न बोर्डमा प्रस्ताव पेस गरेका हुन्, जसको मूल्य ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको छ ।
बोर्डमा स्वीकृतिको प्रतिक्षामा रहेका कम्पनीमध्ये सबैभन्दा ठूलो संख्या जलविद्युत् (हाइड्रोपावर) क्षेत्रका छन् । सेबोनको तथ्यांक अनुसार ३७ वटा जलविद्युत् कम्पनीको करिब १८ अर्ब २६ करोड रुपैयाँ बराबरको १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ता शेयर पाइपलाइनमा छन् ।
रकमका हिसाबले भने उत्पादन तथा प्रशोधन समूह अगाडि छ । यस समूहका कम्पनीले २७ अर्ब ०४ करोड ४९ लाख रुपैयाँ बराबरको १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता आईपीओ स्वीकृतिको प्रतिक्षामा छन् ।
होटल तथा पर्यटन समूहका तीन कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको १ करोड ४२ लाख १० हजार कित्ता आईपीओका लागि प्रस्ताव गरेका छन् । त्यस्तै लगानी समूहका चार कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ बराबरको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता शेयर पाइपलाइनमा छन् ।
बीमा क्षेत्र अन्तर्गतका तीन लघु बीमा कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ स्वीकृतिका लागि दर्ता गराएका छन् ।
यसबाहेक अन्य समूहमा पर्ने १० कम्पनीले करिब ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता आईपीओ निष्कासन अनुमति मागेका छन् ।
विकास बैंक समूहका तर्फबाट साल्पा विकास बैंकले १७ करोड २३ लाख रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता शेयर जारी गर्न अनुमति मागेको छ ।