काठमाडौं, २८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । टिका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्ने छ ।
यसवर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।
कात्तिक ३ गते कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने समितिले जनाएको छ । त्यस्तै, कात्तिक ५ गते म्ह पूजा रहेको छ भने यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।
