काठमाडौं, २९ असोज। बैंक तथा वित्तीय संस्थाले अब संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितमा खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैङ्कलाई सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनमा घाइते भएका र सहिदका परिवारका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्नेछ । केन्द्रीय बैंकको संशोधन अनुसार जेनजी आन्दोलनमा घाइते भएका गरिब तथा विपन्न नागरिकलाई सरकारी अस्पतालमा उपचारका लागि आवश्यक औषधि र सेवामा खर्च गर्न सकिनेछ । साथै सहिद भएका व्यक्तिका परिवारका लागि आय आर्जन क्षमता बढाउने उद्देश्यले नेपाल सरकार वा सरकारी स्वीकृत सीपमूलक तालिम दिने संस्थाबाट तालिम प्रदान गर्न खर्च गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
