काठमाडौं, २९ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपालले आज ओमानसँग खेल्दै छ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ ।
छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आज ओमानलाई हराएमा नेपाल आगामी टी–२० विश्वकपमा छनोट हुने छ, तसर्थ नेपाल यो प्रतियोगिताको उपाधिकै नजिक समेत पुग्ने छ ।
नेपालले आइतबार यूएईलाई १ रनले र सोमबार कतारलाई ५ रनले हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई पराजित गरेको थियो ।
नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानलाई ६ विकेटले हराएको थियो । टी–२०आई क्रिकेटमा नेपाल र ओमान हालसम्म ८ पटक भिडेका छन्, जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ ।