काठमाडौं, २९ असोज । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । एक महिनामै वैदेशिक अध्ययनका लागि पौने ३३ अर्ब रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति चालू आव २०८२/८३ को दुई महिनाको तथ्याङ्कअनुसार वैदेशिक अध्ययनका लागि ३२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत गत आवको भदौसम्मको तुलनामा १६ दशमलव १७ प्रतिशतले बढी हो । आव २०८१/८२ को दुई महिनामा शिक्षातर्फको भ्रमण व्यय २८ अर्ब २० करोड रुपैयाँ थियो ।
शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै ४७ अर्ब ४१ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको भदौको तुलनामा ९ दशमलव ६ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा यस्तो खर्च ४३ अर्ब १८ करोड रहेको थियो ।
चालू आवको भदौमा खुद सेवा आय ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आवको भदौसम्ममा यस्तो आय १० अर्ब ५५ करोड रहेको थियो ।