काठमाडौं, ३० असोज । अकबरे खुर्सानीेमा अत्याधिक विषादी फेला परेको छ । मकवानपुरबाट कालीमाटी ल्याएर बिक्रीका लागि राखिएको पसल नं. ६४७ मा ४९ दशमलव ०३३ र पसल नं. ६६३ को खुर्सानीमा ५१ दशमलव ४४६ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको हो ।
बिहीबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ ओटा तरकारी तथा फलफूल परीक्षण गर्दा खुर्सानीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।