तरलता र घट्दो ब्याजदरले बढेन कर्जा, जेनजी आन्दोलनले लगानी मनोबल घट्ने

अनलाइनसमय |
३१ असोज २०८२
तरलता र घट्दो ब्याजदरले बढेन कर्जा, जेनजी आन्दोलनले लगानी मनोबल घट्ने

सुनिता सुवेदी,
काठमाडौं, ३१ असोज । पछिल्लो समय बैंकहरूको कर्जाको औसत ब्याजदर घट्दै गएको छ । तर ब्याजदर घटेअनुसार कर्जा प्रवाह हुन सकेको छैन ।

बैंकहरूको औसत ब्याजदर पछिल्लो तीन वर्षमा ३९ दशमलव ०४ प्रतिशतले घटेको छ । आव २०७९/८० मा यस्तो ब्याजदर १२ दशमलव ७३ प्रतिशत थियो, तर चालू आर्थिक वर्ष २०८२/८३ को असोज २७ मा यो ब्याजदर घटेर ७ दशमलव ७६ प्रतिशतमा आइसकेको छ ।

चालू आवको असोज २७ सम्ममा बैंक, वित्तबाट निजीक्षेत्रमा ५६ खर्ब २५ अर्ब कर्जा प्रवाह भएको छ । जुन तीन वर्ष अघिको तुलनामा १७ दशमलव ९२ प्रतिशत मात्र बढी हो । आव २०७९/८० को ६ महिनामा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकिङ विज्ञ भुवन दाहाल पछिल्लो समय व्यवसायीमा लगानी गर्ने मनोबल नै नभएकाले कर्जाको माग घटेको बताउँछन् । ‘अहिले कर्जाको माग किन वृद्धि भएन भनेर वृहत अध्ययन गर्नु जरुरी छ,’ उनले भने ‘यति थोरै ब्याजदर भएको बेला कर्जाको माग एकदमै धेरै हुन्थ्यो । यहाँ धेरै लगानी आवश्यक छ भन्छौं, तर व्यवसायीमा कर्जा लिएर नाफा गर्न सक्छु भन्ने कन्फिडेन्ट नभएर कर्जा जान सकेको छैन ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिले व्यवसायीमा लगानी गर्ने मनोबल झन घट्ने दाहालले चिन्ता व्यक्त गरे । ‘अहिले समाजमा आत्मविस्वासको अभाव छ । गत भदौमा भएको आन्दोलनमा व्यवसायीहरूको घर जले, बिजनेस कम्पलेक्स र होटलमा आगजनी भयो । यसले व्यवसायीमा झनै लगानीको कन्फिडेन्ट घट्छ कि भन्ने चिन्ता थपेको छ,’ उनले भने ।

असोज २७ सम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ४४ अर्ब रुपैयाँ छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.६५ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । २०७९/८० मा सीडी रेसियो ८६ दशमलव ९० प्रतिशत रहेकोमा हाल यो ७४ प्रतिशतमा झरेको छ ।

तथ्यांकका आधारमा बजारमा लगानी गर्न योग्य रकम अझै १० खर्ब ८४ अर्ब रुपैयाँ छ । कर्जाको माग नहुँदा राष्ट्र बैंकले हप्ता वा हप्ताकै दुई–तीन पटक तरलता खिच्ने गरेको छ । दशैंयता मात्रै बजारबाट १ खर्ब ९५ अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । यसले कर्जा माग नहुँदा बजारमा अत्यधिक तरलता थुप्रिरहेको प्रष्ट देखिन्छ ।

पछिल्लो तीन वर्ष अवधिमा निक्षेप वृद्धिदर समेत करिब ४४ प्रतिशतले बढेको छ । आव २०७९/८० को असोजसम्ममा ५१ खर्ब ७१ रहेकोमा चालू आवको असोज २६ सम्ममा बढेर ७४ खर्ब ४४ अर्ब पुगेको छ । वाणिज्य बैंकसँग मात्रै सो अवधिमा ६६ खर्ब ९० अर्ब निक्षेप छ । यी बैंकबाट कर्जा ४९ खर्ब ९८ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

अर्काे सरकार नआउन्जेल कर्जाको माग बढ्दैन

जेनजी आन्दोलनले देशको राजनीतिमा मात्र नभई अर्थतन्त्रलाई समेत गम्भीर सङ्कट पैदा गरेको छ । आन्दोलनका क्रममा निजी क्षेत्रको मात्रै झन्डै ८० अर्ब रुपैयाँभन्दा धेरैको क्षति हुँदा समग्रमा साढे २ खर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भएको अनुमान छ । यसले पनि लगानीकर्ताको मनोबल खस्कँदो छ ।

विज्ञ दाहाल चुनावयता कर्जाको माग नै स्थिर रहने बताउँछन् । चुनाव भयो र नयाँ सरकाले राम्रा नीति ल्याउन सक्यो भने मात्रै कर्जा विस्तार हुन सक्ने उनले बताए । ‘समग्र देशको आर्थिक अवस्था राम्रो नभएसम्म व्यवसायीमा कर्जा लिएर लगानी गर्ने कन्फिडेन्ट नै हुँदैन । चुनाब भएर सरकार नबनुनजेल सम्म यो कर्जाको माग धेरै बढ्ला जस्तो लाग्दैन, थोरै कर्जा जानु सामान्य हो । पछि सरकारले राम्रो नीति ल्यायो भने फेरि कर्जाको माग एक वर्षमै बढ्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस