काठमाडौं, २ कात्तिक । यस वर्ष तिहारको समयमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदलीसम्म हुन सक्ने जल तथा मौसम विभागले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा र उच्च हिमाली भूभागमा हल्का वर्षा तथा हिमपात को समेत सम्भावना छ ।
विभागका अनुसार सोमबार लक्ष्मी पूजाको दिन कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कार्तिक ४ देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ५ गोवर्धन पूजाको दिन कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना छ ।
साथै कार्तिक ६ भाई टिकाको दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने भने सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।