एक वर्षमै थपिए ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

अनलाइनसमय |
२ कार्तिक २०८२
एक वर्षमै थपिए ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं, २ कात्तिक । पछिल्लो समय भइरहेको डिजिटल प्रविधिको विकास, स्मार्टफोनको पहुँचमा वृद्धिसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक वर्ष अवधिमै ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंककको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनासम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८२ लाख ४० हजार पुगेका छन्, जुन गत वर्षको तुलनामा १२ दशमलव ०३ प्रतिशतले बढी हो । गत आवको भदौसम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ५२ लाख ७ हजार थिए, अर्थात् एक वर्ष अवधिमै ३० लाख ३२ हजार ९८४ हजार यस्ता प्रयोगकर्ता थपिएका छन् ।

यस्तै चालू आवको चार महिनामा इन्टरनेट बैंकिङ सेवा २२ लाख ७८ हजार २६२ प्रयोगकर्तामा पुगिसकेको छ, जुन गत वर्षको तुलनामा १४ दशमलव ६६ प्रतिशतले धेरै हो । गत आवको भदौसम्ममा १९ लाख ८६ हजार ८१७ प्रयोगकर्तामा इन्टरनेट बैंकिङको पहुँच पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवको दुई महिनामा डेबिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड ३० लाख ९७ हजार रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा ५ दशमलव ०८ प्रतिशतले बढेर १ करोड ३७ लाख ६३ हजार पुगिसकेको छ ।
भदौसम्ममा क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या क्रमशः ३ लाख २१ हजार ३४३ र २ लाख ५७ हजार ७३ पुगेको छ । सो अवधिमा ५ हजार २९२ एटिएम रहेका छन् ।

हाल ५४ वटा बैंकिङ संस्था रहेका छन् । यी संस्थाका ६ हजार ६२६ वटा शाखा कार्यालय छन् । सो अवधिमा ६ करोड ४ लाख ५३ हजारभन्दा बढीको बैंकिङ खाता रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस