काठमाडौं, ३ कात्तिक । तिहारको तेस्रो दिन आज देशभर धनकी देवी लक्ष्मीको आराधना गर्दै श्रद्धापूर्वक लक्ष्मीपूजा गरिँदैछ ।
जनविश्वास अनुसार स्वच्छ, सफा घरमा मात्र लक्ष्मी प्रवेश गर्ने भएकाले आज बिहानैदेखि घर घरमा सरसफाइ, लिपपोत र दीपावलीको तयारी गरिएको छ । झ्यालढोका, आँगन, कोठा, कौसीदेखि भर्याङसम्म उज्यालो र सौन्दर्यले झिलिमिली बनाइएको छ ।
कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । आज साँझ गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला कोरेर देवीलाई स्वागत गरिन्छ। त्यसपछि पूजा कोठामा दियो, कलश, गणेश र लक्ष्मीको स्थापना गरी गरगहना, पैसा, फलफूल, धान, चामल, फूलमाला र सेलरोटी चढाई पूजाआजा गरिन्छ ।
परम्पराअनुसार लक्ष्मीपूजा पछि छोरी–चेली तथा कन्या बालिकालाई लक्ष्मीको प्रतिक मानी दक्षिणा दिने चलन छ । यस दिन पूजा सम्पन्न भएपछि घरबाहिर धन वा अन्य वस्तु नपठाउने परम्परा पनि रहेको छ, यसो गर्दा लक्ष्मी बाहिर जाने विश्वास गरिन्छ ।
मध्यरातमा घरका महिलाले ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी नाङ्लो ठटाउने शास्त्रीय प्रथा पनि आजैको रातमा गरिन्छ ।
यसैगरी, साँझपख युवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्ने गर्छन् । धर्मशास्त्रविद्हरूका अनुसार भगवान् विष्णुले यमपञ्चकका पाँच दिन बलिराजालाई तीनै लोकको शासन दिने वरदान दिएका थिए र बलिराजाले ‘भलो होस्’ भन्ने भावना व्यक्त गर्न भैलो गाउन लगाएका थिए । समयक्रममा यही शब्द ‘भैलो’ बनेको मानिन्छ ।
भैलो खेल्न आउनेलाई धान, चामल, पैसा, फूलमाला र सेलरोटी दिएर सम्मान गरिन्छ । कात्तिक महिनाको दान मानिने भएकाले भैलोमा दान नदिए दुर्भाग्य र दिए पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजाको अवसरमा आज देशका सहर बजारहरू दीपावलीका उज्यालोले झिलिमिली भएका छन् ।