सुनचाँदीमा लगानी गर्दै हुनुहुन्छ ? जोखिमबारे सचेत हुनुहोस् (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१० कार्तिक २०८२
काठमाडौं, १० कात्तिक । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले नयाँ नयाँ रेकर्ड राख्दै आएको छ । एक वर्षअघिसम्म प्रतितोला १ लाख ६० हजारमा पाइने सुन अहिले ९० हजारले बढिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असोज ३१ गते प्रति तोला सुनको मूल्य दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । यद्यपि आज (कात्तिक १० गते) प्रति तोला दुई लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विश्व बजारमै बढेको सुनको मूल्यको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो । अहिले सुनसँगै चाँदीको मूल्य पनि बढिरहेको छ । सुनचाँदीको मूल्य चुलिँदै गर्दा नेपाली उपभोक्ता पनि यसको लगानीमा आकर्षित भएका छन् । महासंघका अनुसार आज (कात्तिक १० गते) चाँदी प्रति तोला दुई अजार ९८० रुपैयाँमा कारोबार भैरहेको छ ।
पअिल्लो समय बैंकको निक्षेपको ब्याजदर घटिरहेको छ भने शेयरबजारमा उत्साह छैन । यस्तै घरजग्गाको कारोबार सुस्त हुँदा लगानीका उपयुक्त विकल्पको अभाव छ । यस्तोमा सर्वसाधारणले आफूले गरेको बचत सुनमा लगानी गर्न थालेको देखिन्छ ।
विश्व अर्थतन्त्र अहिले अस्थिर अवस्थामा छ । अमेरिकामा मुद्रास्फीति उच्च छ । रूस–युक्रेन लगायत द्वन्द्वले भूराजनीतिक तनाव बढाइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर विश्व व्यापार युद्ध चर्काएका छन् । यस्तो अनिश्चित परिस्थितिमा केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाइरहेका छन् भने लगानीकर्ताले पनि यसतर्फ लगानी बढाएका छन् । तर सुनमा लगानी गर्नुअघि सम्भाव्य जोखिमतर्फ भने ध्यान दिनैपर्छ ।
नेपालमा जेनजी आन्दोलनपछिको अनिश्चितताका कारण सुन किन्नेको संख्या बढेको अनुमान छ । विगतमा सुनको भाउ उच्चदरले बढ्दा किन्नेभन्दा बेच्नेको संख्या बढी हुन्थ्यो । तर अहिले उल्टो अवस्था छ । लगानीको केही अंश सुनचाँदीमा हुनुपर्छ भन्ने मान्यता रहे तापनि नेपालमा यसको कारोबारमा सहज नीतिगत व्यवस्था छैन ।
सुन लगानीको एउटा वैकल्पिक उपकरण हो । तर अहिले मूल्य आकाशिइरहेका बेला यसमा गरिने लगानी सुरक्षित हो वा जोखिमपूर्ण भन्ने प्रश्नमा पनि विचार पुर्याउनुपर्छ ।
नेपालमा सुनमा लगानीका लागि कमोडिटी बजारको व्यवस्था गर्न पनि निकै ढिला भइसकेको छ । कमोडिटी बजार हुने हो भने अन्तरराष्ट्रिय बजार अनुसार चल्ने भएकाले यो बढी विश्वसनीय हुन सक्छ ।
गतवर्षको कात्तिक २ गते सुनको उच्च मूल्य १ लाख ६४ हजार थियो । जब कि यस वर्षको सोही दिन सुनको मूल्य २ लाख ५३ हजार रह्यो । यस्तै गतवर्षको कात्तिक २ गते चाँदीको मूल्य २ हजार हाराहारी रहेकोमा यस वर्षको सोही दिन ३ हजार २७५ कायम भयो । हाल वाणिज्य बैंकहरूले दैनिक २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।
प्रस्तुत छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :