काठमाडौं, ११ कात्तिक । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षा तथा बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात तथा वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राती कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात तथा वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।