चार वर्षपछि अफगानिस्तानसँग नेपालको व्यापार पुनः घाटामा

अनलाइनसमय |
११ कार्तिक २०८२
चार वर्षपछि अफगानिस्तानसँग नेपालको व्यापार पुनः घाटामा

काठमाडौं, ११ कात्तिक । विगत चार वर्ष अफगानिस्तानसँग बचतमा रहेको नेपालको व्यापार यो वर्ष फेरि खस्किएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को असोजसम्म नेपालले अफगानिस्तानसँग ४ करोड २३ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

आव २०७७/७८ को असोजसम्ममा अफगानिस्तानसँग डेढ लाख रुपैयाँको घाटामा रहेको नेपालको व्यापार चार वर्षयता लगातार बचतमा थियो ।

आव २०७८/७९ को तीन महिनामा १ करोड ९१ लाखभन्दा बढीको वस्तु अफगानिस्तानतर्फ निर्यात हुँदा आयात भने ५४ लाख रुपैयाँ बराबरको मात्रै भएको थियो, तसर्थ सो अवधिमा नेपाल १ करोड ३६ लाखको व्यापार बचतमा थियो ।

आव २०७९/८० को पहिलो त्रैमासमा भने अफगानिस्तानसँग आयात– निर्यात केही भएको थिएन । तर, यो वर्षको समग्रमा भने नेपाल सो देशसँग २ करोड ६० लाखको बचतमा थियो ।

त्यस्तै आव २०८०/८१ को असोजसम्ममा अफगानिस्तानसँगको व्यापारमा नेपाल ३९ लाख रुपैयाँलेभन्दा धेरै नाफामा थियो । पछिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा रकम बढेर २८ करोड ४४ लाख पुगेको थियो । तर, चालू आवमा भने अफगानिस्तानसँगको व्यापार घाटामा गएको हो ।

गत वर्ष २८ करोड ४६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । सो अवधिमा नेपालले बुलडोजर मात्रै अफगानिस्तानतर्फ २८ करोड १५ लाख मूल्य बराबरको ६२ वटा निर्यात गरेको थियो भने ३० लाख रुपैयाँको औषधिहरू त्यसतर्फ निकासी गरेको थियो । बढीमात्रामा डोजर निकासी भएकोले पनि गत आवको असोजसम्ममा अफगानिस्तानसँग नेपालको व्यापार सबैभन्दा धेरै बचतमा थियो ।

तर, चालू आवको असोजसम्ममा डोजरहरू निर्यात भएको छैन । यो वर्ष फलाम तथा स्टिलका सामग्री मात्रै निर्यात गरिएको छ । ५ लाख ५५ हजारको फलाम वा स्टीलका पुलहरू र तार तथा केबलहरू निर्यात गरिएको थियो भने १५ करोड ७१ लाखको फलाम तथा स्टीलको ग्रिल, जाली र बार्डिङ, फलाम वा स्टीलका नट र अन्य नेसहरू अफगानिस्तानतर्फ निकासी गरिएको थियो ।

तीन महिनामा ९१ लाख रुपैयाँको अन्जिर, १ करोड ४० लाखको सुकुटी खुबानी र १८ करोड १४ लाख मूल्य बराबरको खरबुजाका बीउ आयात गरिएको छ । यो वर्ष खरबुजाका बीउ धेरै आयात गरिएकोले पनि नेपालबाट अन्य वस्तु निर्यात हुन नसक्दा व्यापार घाटामा गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस