३० वर्षपछि परमाणु हतियार परीक्षण गर्ने तयारीमा अमेरिका

अनलाइनसमय |
१३ कार्तिक २०८२
३० वर्षपछि परमाणु हतियार परीक्षण गर्ने तयारीमा अमेरिका

काठमाडौं, १३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ३० वर्षपछि फेरि अमेरिकामा परमाणु हतियार परीक्षण पुनः सुरु गर्न निर्देशन दिएका छन् । ट्रम्पको उक्त निर्देशन दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटअघिको हो । रूसले हालै दुईवटा नयाँ परमाणु क्षमतायुक्त हतियार परीक्षण गरेको घोषणा गरेपछि अमेरिकाको यो कदम आएको बीबीसीले जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रूस र चीनजस्ता देशहरू निरन्तर परमाणु परीक्षण गर्दै आएका कारण मैले अमेरिकी युद्ध विभागलाई समान स्तरमा परीक्षण सुरु गर्न आदेश दिएको छु ।’

अमेरिकाले सन् १९९२ पछि कुनै पनि परमाणु हतियार परीक्षण गरेको छैन । उक्त वर्ष नेभाडा राज्यको भूमिगत क्षेत्रमा गरिएको ‘डिभाइडर’ परियोजना अन्तिम परीक्षण थियो । त्यसपछि तत्कालीन राष्ट्रपति जर्ज एच.डब्ल्यू. बुसले परीक्षणमा रोक लगाएका थिए ।

अमेरिका अहिले पनि विश्वको सबैभन्दा ठूलो परमाणु शक्ति भएको देश रहेको ट्रम्पले बताएका छन् । उनका अनुसार रूस र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । उनले चीनको परमाणु कार्यक्रम आगामी पाँच वर्षभित्र तीव्र रूपमा विस्तार हुने दाबी पनि गरे ।

ट्रम्पको निर्देशन अमेरिकाको दीर्घकालीन नीति विपरीत मानिएको छ । सन् १९९२ पछि अमेरिकी नीति परमाणु परीक्षण नगर्ने दिशामा केन्द्रित थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस