दुई नयाँ कोइका स्वयंसेवक नेपाल आइपुगे, डिसेम्बर ५ देखि रुपन्देही र धनगढीमा खटिने

अनलाइनसमय |
१८ कार्तिक २०८२
दुई नयाँ कोइका स्वयंसेवक नेपाल आइपुगे, डिसेम्बर ५ देखि रुपन्देही र धनगढीमा खटिने

काठमाडौं, १८ कात्तिक । कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) ले दुई जना नयाँ कोरिया ओभरसिज भोलिन्टियर (केओभी) लाई नेपालमा पठाएको छ । उनीहरू नोभेम्बर १ (कात्तिक १५)मा काठमाडौं आइपुगेका हुन् । ललितपुरमा स्थानीय अभिमुखीकरण तालिम सकेर डिसेम्बर ५ देखि उनीहरूले आफ्नो जिम्मेवारी सुरु गर्ने कोइकाले जनाएको छ ।

दुई स्वयंसेवकमध्ये सोखुई यी रुपन्देहीको बुटवलस्थित कोरिया नेपाल पोलिटेक्निक इन्स्टिच्युट मा र जिनप्यो जोंग कैलालीको धनगढीस्थित श्री सरस्वती माध्यमिक विद्यालय मा खटिने छन् ।

कोभिड–१९ महामारीपछि, कोइकाले २०२१ डिसेम्बरमा आफ्नो स्वयंसेवक कार्यक्रम पुनः सुरु गरेको हो । त्यसयता विभिन्न क्षेत्रमा २७ जना कोरिया स्वयंसेवक नेपाल आइसकेका छन् ।

स्वयंसेवकहरूले ललितपुरमा एक महिनाको अभिमुखीकरण तालिम लिनेछन्, उक्त तालिममा उनीहरूले नेपालको समाज, संस्कृति, परम्परा र भाषा सिक्नेछन् । यस्तो तालिमले उनीहरूलाई यहाँको वातावरणमा अभ्यस्त हुन र आफ्ना कार्यस्थलमा सजिलै काम गर्न मद्दत गर्ने कोइकाको भनाइ छ ।

कोरिया ओभरसिज भोलिन्टियर (केओभी) कार्यक्रमको मुख्य उद्देश्य कोरियाको ज्ञान र अनुभवलाई तल्लो तहसम्म हस्तान्तरण गर्नु हो । यस कार्यक्रमले साझेदार देशका नागरिकहरूको जीवनस्तर सुधार गर्न, कोरिया र ती देशहरूबीच मित्रता तथा आपसी समझदारी बलियो बनाउन र अन्तर्राष्ट्रिय विकास लक्ष्यहरू हासिल गर्न सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

सन् १९९० देखि कोइकाका स्वयंसेवकहरू नेपाल सरकारका अनुरोध अनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न सरकारी कार्यालयहरूमा खटाइँदै आएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।

हालसम्म ४९५ जना कोइका स्वयंसेवकले नेपालमा सेवा गरिसकेका छन् । हाल १० जना स्वयंसेवकहरू काठमाडौं, ललितपुर, भक्तपुर, बागलुङ, कास्की, इलाम र कैलालीका सरकारी निकायहरूमा सक्रिय छन्, जसमा सल्लाहकार पनि समावेश छन् ।

कोइका नेपाल कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्दै स्वयंसेवक कार्यक्रमलाई सुरक्षित, प्रभावकारी र परिणाममुखी बनाउन निरन्तर प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस