काठमाडौं, २० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले २० प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार समायोजनपछि हिमालयनको शेयरमूल्य १ हजार १५१ रुपैयाँ ६७ पैसा कायम भएको छ । बुधबार दोस्रो बजारमा कम्पनीको शेयर अन्तिम पटक प्रतिकित्ता १ हजार ३८२ रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले चालू आर्थिक वर्षका लागि चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसअन्तर्गत २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन् ।
लाभांश प्रस्ताव अनुमोदनका लागि कम्पनीले २५औँ वार्षिक साधारण सभा कात्तिक ३० गते आइतबार बिहान १० बजे पर्साको वीरगञ्जस्थित रजिष्टर्ड कार्यालयमा बोलाएको छ ।