काठमाडौं, २० कात्तिक । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ४९ अर्ब रुपैयाँभन्दा धरै भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले असोजसम्ममा ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ व्यवसाय भएको थियो ।
व्यवसायमा उठेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्कबाट ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै नविकरण बीमाशुल्क मार्फत ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ । पहिलो त्रैमाससम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड १४ लाख ३८ हजार २७३ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
जीवन बीमा व्यवसाय गर्ने १४ बीमकहरु रहेका छन् । यी बीमक मध्ये सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेसनल लाइफ रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले ४ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यसगरी, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड २२ लाख रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड ६१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड १० लाख रुपैयाँ र एशियन लाइफले २ अर्ब २६ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।