काठमाडौं, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको एक कम्पनीलाई दिएको छ ।
राष्ट्र बैंकले १,००० को ४३ करोड थान नेपाली नयाँ नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दिएको हो । कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्नेछ ।
कम्पनीले राष्ट्र बैंकले तोकेको सर्तमा रहेर पेश गरेको बोलपत्रमा उक्त नोट छपाईका लागी गरेको आर्थिक प्रस्ताव सबैभन्दा कम भएपछि उक्त नोट छपाईको ठेक्का सो कम्पनीलाई दिएको हो ।
राष्ट्र बैंकले नोट छपाइका लागि पूर्व योग्यता पूरा गर्ने कम्पनीहरू चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् हुन् ।
यी ६ वटा कम्पनीलाई गोप्य बोलपत्र प्रस्ताव माग गरिएकोमा सबैभन्दा कम भएपछि उक्त नोट छपाईको ठेक्का चिनियाँ कम्पनीलाई दिइएको हो ।
