काठमाडौं, २३ कात्तिक । बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ । आइतबार प्राधिकरणले यसका लागि बैंकहरूसँग शिलबन्दी दरभाउपत्र (बोलपत्र) पेस गर्न आह्वान गरेको हो ।
प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार बिभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरूमा रकम लगानी गर्न ७ दिनभित्र बोलपत्र पेस गर्न सूचनामा भनिएको छ । इच्छुक बैंकहरुले आफूले दिनसक्ने अधिकतम (ब्याजदर) प्रतिफल उल्लेख गरी विवरणहरु खुल्नेगरी दरभाउपत्र पेस गर्नुपर्ने छ ।
प्राधिकरणका अनुसार पेस हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।
दरभाउपत्र पेस गर्दा बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सान स्थिति, निष्क्रिय सम्पत्ति, कर्जा–निक्षेप अनुपात, बैंक स्थापना वर्ष र पूँजी पर्याप्तता अनुपातजस्ता विवरणहरू खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
यद्यपि, प्राधिकरणले कुल लगानी गर्न लागिएको रकमको परिमाण भने सार्वजनिक गरेको छैन ।