काठमाडौं, २४ कात्तिक । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले आगामी मंसिर २ गते दिउँसो १ बजे बस्नेगरी एमाले विघटित संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।
‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु’, बर्तौलाले भनेका छन् ।
प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका हुन् ।