काठमाडौं, २८ कात्तिक । आर्थिक वर्ष (आव) २०८१/८२ मा लुम्बिनी प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा यस्तो क्षमता ५ दशमलव ७६ प्रतिशत विन्दुले घटेको हो ।
२०८१ असार मसान्तमा ५६ दशमलव ३६ प्रतिशत रहेको क्षमता उपयोग २०८२ को सोही अवधिमा आइपुग्दा घटेर ५० दशमलव ६० प्रतिशतमा कायम भएको छ । अध्ययनमा समेटिएका उद्योगहरूमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ८८ दशमलव ६९ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप उत्पादन गर्ने उद्योगले ८ दशमलव ६४ प्रतिशत क्षमता उपयोग गरेका छन् ।

जीडीपीमा उद्योगको हिस्सा १४ प्रतिशत
कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) उपभोक्ताको मूल्यमा करिव ८ खर्ब ६९ अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान रहेको छ, जसमा उद्योग क्षेत्रको हिस्सा १४ प्रतिशत रहने छ । उद्योग विभागका अनुसार २०८२ असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा ३ खर्ब २७ अर्ब ५७ करोडको लगानीमा जम्मा ७५६ वटा उद्योगहरु दर्ता भएका छन् । उक्त उद्योगहरुले जम्मा ७६ हजार ८० जनालाई रोजगारी प्रदान गरेका छन् ।
यस प्रदेशमा रहेका उद्योगहरुको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रुपन्देही जिल्लाको ३८ दशमलव ६२ प्रतिशत र सबैभन्दा कम प्यूठान र रोल्पा जिल्लाको शून्य ४० प्रतिशत रहेको छ । यस प्रदेशमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६६ र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३१ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् । बुटवल औद्योगिक क्षेत्रमा ३ वटा उद्योगहरु र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३ वटा उद्योगहरु बन्द अवस्थामा रहेका छन् ।
त्यसैगरी, रुपन्देही जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा हाल ११ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् भने २ वटा सञ्चालन हुने क्रममा छन् । यस प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र र बाँके जिल्लाको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास भई निर्माण कार्य अगाडि बढेको छ ।
