काठमाडौं, ३० कात्तिक । पछिल्लो तीन महिनामै नेपालको कुल विदेशी विनिमय सञ्चिति ३ खर्ब बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालै आवको तीन महिनामा ३ खर्ब २ अर्ब १३ करोड रुपैयाँले विदेशी विनिमय सञ्चिति थप भएको हो ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव ३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २६ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ छ, जुन असार मसान्तको तुलनामा १० दशमलव ५ प्रतिशते वृद्धि भएको हो । असार मसान्तमा राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड सञ्चिति थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।
१६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने
यसैगरी, चालू आवको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनको अनुपात ४८.८ प्रतिशत, कुल आयातको १३६.६ प्रतिशत र विस्तृत मुद्राप्रदायको अनुपात ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए ।