काठमाडौं, ३० कात्तिक । पछिल्लो एक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २५६ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असोज मसान्तको तुलनामा २०८२ को सोही अवधिमा २५५ दशमलव ७१ अंकले घटेको हो ।
गत वर्षको असोज मसान्तमा २७४२ दशमलव ८९ को विन्दुमा रहेको नेप्से सूचकांक चालू आर्थिक वर्ष (आव)को सोही अवधिमा २४८७ दशमलव १८ को विन्दुमा खुम्चिएको छ ।
यता धितोपत्र बजार पुँजीकरण गत वर्षको असोज मसान्तमा ४३ खर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा यस वर्षको सोही अवधिमा ४१ खर्ब ५७ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । गत वर्षको असोज मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ उत्पादनको ७६ दशमलव ३९ प्रतिशत रहेकोमा यस वर्षको असोज मसान्तमा ६८ दशमलव ०८ प्रतिशतमा सीमित भएको देखिन्छ ।
तथ्यांक अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल संख्या २७६ रहेको छ । जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९४ हाइड्रोपावर कम्पनी, २३ उत्पादन तथा प्रशोधन कम्पनी, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । गत वर्षको असोज मसान्तमा सूचीकृत कम्पनीको संख्या २६७ रहेको थियो ।