काठमाडौं, १ मंसिर । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो तीन महिनामा यस्तो कर्जा १२ प्रतिशतले घटेको हो ।
उद्यमशील, उत्पादनशील, रोजगारी लगायत क्षेत्रको प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा पहिलो दुई महिनामा १२ दशमलव ११ प्रतिशत अर्थात् ९ अर्ब ५३ करोड रुपैयाँ घटेको छ । गत साउनमा ७८ अर्ब ६६ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा असोजसम्म आइपुग्दा घटेर ६९ अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको हो ।
२०८२/८३ मा बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो क्षेत्रमा बजारमा कायम कुल अनुदानको ७१ दशमलव ०८ प्रतिशत अर्थात् ५५ अर्ब ९१ करोड रुपैयाँ छ । यसैगरी महिला उद्यमशीलतातर्फ १६ अर्ब ३७ करोड, कपडा उद्योगतर्फ ६६ करोड, दलित समुदायतर्फ १२ करोड र विदेशबाट फर्केका युवा परियोजनातर्फ ७ करोड रुपैयाँ ब्याज अनुदान कर्जा बजारमा कायम रहेको तथ्याङ्क छ ।