काठमाडौं, २ मंसिर । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित औद्योगिक क्षेत्रगत कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा यस्तो कर्जा ४ दशमलव ३७ प्रतिशत अर्थात १ अर्ब १६ करोड ७६ लाख रुपैयाँले बढेको हो ।
२०८१ असार मसान्तमा २५ अर्ब ५५ करोड २६ लाख रुपैयाँ रहेको कर्जा प्रवाह २०८२ को सोही अवधिसम्म आइपुग्दा बढेर २६ अर्ब ७२ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४ दशमलव ७९ प्रतिशतले कमी आएको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६ दशमलव ९७ प्रतिशत रहेको छ ।
समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६७ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी ३७ दशमलव ८३ प्रतिशतले ह्रास आएको छ ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४२ दशमलव ७१ प्रतिशत, गैर खाद्यवस्तु सम्बन्धी उद्योगमा २६ दशमलव ०५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २० दशमलव २१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ८ दशमलव ९२ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १ दशमलव ६३ प्रतिशत र खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ४८ प्रतिशत अंश रहेको छ ।