अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

अनलाइनसमय |
५ मंसिर २०८२
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

काठमाडौं, ५ मंसिर। अमेरिकाले भारतलाई झण्डै ९३ मिलियन डलर मूल्यका हतियार बिक्री गर्ने अनुमति दिएको छ । यसमा जाभेलिन एन्टी–ट्यांक मिसाइल र एक्सक्यालिबर नामका उच्च–प्राविधिक तोप गोलाबारुद समावेश छन् । अमेरिकी विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

यो निर्णय भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिंगटनमा भएको भेटवार्ताको करिब नौ महिनापछि आएको हो बीबीसीले लेखेको छ । सो भेटमा दुवैले रक्षा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसपछि अक्टोबरमा दुवै देशले आगामी १० वर्षका लागि रक्षा सहयोग विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

भारत पछिल्ला वर्षहरूमा रुसमाथिको निर्भरता घटाउँदै हतियार स्रोत विविधीकरण गर्दै आएको छ । २०१७ देखि २०२३ सम्म रुसको भारतमा हतियार आपूर्तिको हिस्सेदारी ६२ प्रतिशतबाट घटेर ३४ प्रतिशत पुगेको छ, जबकि अमेरिकासँगको रक्षा व्यापार शून्य नजिकबाट बढ्दै अहिले २० अर्ब डलरसम्म पुगेको छ । यसले अमेरिकालाई भारतको तेस्रो ठूलो हतियार आपूर्तिकर्ता बनाएको छ ।

अमेरिकी डिफेन्स सेक्युरिटी को–अपरेशन एजेन्सी (डीएससीए)का अनुसार बिक्री हुने हतियारहरूले भारतलाई वर्तमान तथा भविष्यका सुरक्षा चुनौती सामना गर्न मद्दत पु¥याउनेछ ।

अमेरिकाले ४५.७ मिलियन डलर मूल्यको जाभेलिन मिसाइल प्रणाली बिक्री गर्न स्वीकृति दिएको छ । यसमा १०० वटा जाभेलिन मिसाइल, एक ‘फ्लाई–टु–बाइ’ मिसाइल, २५ वटा कमाण्ड लन्च युनिट, प्रशिक्षण सामग्री, स्पेयर पाट्र्स र प्राविधिक सहयोग समावेश छन् ।

त्यस्तै, छुट्टै निर्णयमार्फत ४७.१ मिलियन डलरका २१६ वटा एक्सक्यालिबर तोप गोलाबारुद र त्यससँग सम्बद्ध अन्य प्राविधिक सामग्री बिक्रीका लागि पनि अनुमति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस