आवश्यकता बन्दै बीमा सूचना केन्द्र स्थापना, उद्देश्य र काम के हो ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
६ मंसिर २०८२
आवश्यकता बन्दै बीमा सूचना केन्द्र स्थापना, उद्देश्य र काम के हो ? (भिडियो रिपोर्ट)

काठमाडौं, ६ मंसिर । बीमा क्षेत्रमा बहुप्रतीक्षित बीमा सूचना केन्द्र स्थापनाको तयारी अघि बढेको छ । बीमा ऐन २०७९ र बीमा नियमावली २०८१ मा भएको व्यवस्था बमोजिम नियामक निकाय नेपाल बीमा प्राधिकरणले केन्द्र स्थापनाको प्रारम्भिक काम अघि बढाएको हो । यस क्रममा गत साता बीमा कम्पनीका प्रमुख कार्यकारीहरूसँग भएको छलफलमा केन्द्र स्थापनाको सहमति भएको छ । नेपालमा बीमा शुरू भएको करीब ८ दशकपछि केन्द्र स्थापना गर्न लागिएको हो ।

बीमा सूचना केन्द्रले बीमा ऐन २०७९ को दफा १४३ को उपदफा ४ बमोजिमको सूचना संकलन गरी अभिलेख राख्नेछ । उक्त उपदफामा बीमित सम्बन्धी विशेष व्यवस्था छ, जसअनुसार केन्द्रले बीमासम्बन्धी सूचना संकलन, भण्डारण तथा वितरणको काम गर्नेछ । त्यस्तै बीमा ठगी, जालसाजी, किर्ते लगायत बीमा अपराध तथा शंकास्पद गतिविधि गर्ने बीमितलाई आवश्यकता अनुसार कालोसूची वा शंकास्पदको सूचीमा राख्नेछ ।

नयाँ बीमा ऐन तथा नियमावलीमा व्यवस्था भएसँगै प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनाका लागि विनियमावली निर्माणको तयारी शुरू गरेको छ ।

नेपाली बीमा क्षेत्रमा बेला बेला ठगीका घटना हुँदै आएका छन् । तर, त्यसबारे सूचना संकलन र जानकारी दिने निकाय अहिलेसम्म छैन । यस्तो निकाय नहुँदा अहिले बीमित व्यक्ति वा संस्थालाई प्राधिकरण वा सम्बद्ध बीमा कम्पनीले मात्र चिन्छन् । यो अवस्थामा बीमा सूचना केन्द्र र केन्द्रीकृत ग्राहक परिचान (सीकेवाईसी)ले ठूलो सघाउ पुग्न सक्छ ।

बीमा सूचना केन्द्र स्थापना भएपछि बीमितहरू बीमा गतिविधि एवं आचरणमा थप सजग हुनुपर्छ, जसले बीमा क्षेत्रमा विश्वसनीयता, पारदर्शिता बढ्नुका साथै दिगो विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बीमा ऐन २०७९ मा प्राधिकरणले बीमा क्षेत्रको सूचना संकलन गरी एकीकृत र व्यवस्थित गर्न बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने उल्लेख छ । स्थापना हुने केन्द्रको नियमन प्राधिकरणले गर्नेछ । बीमितको आवश्यक सूचना तथा जानकारी बीमकले बीमा सूचना केन्द्रलाई उपलब्ध गराउनुपर्ने बीमा नियमावलीमा व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस