बचतकर्तालाई हल्ला र भ्रममा नपर्न समितिको आग्रह

अनलाइनसमय |
५ मंसिर २०८२
बचतकर्तालाई हल्ला र भ्रममा नपर्न समितिको आग्रह

काठमाडौं, ५ मंसिर । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका बचतकर्तालाई पछिल्लो समय विभिन्न माध्यमबाट फैलिएको भ्रम तथा हल्लाको विश्वास नगर्न अनुरोध गरेको छ । समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

समितिले वचत तथा ऋण मिलान कार्यमा केही माध्ययमले कार्यालयले पैसा उठाएको भनी गरेको प्रचार गलत रहेको भनेको छ । ‘वचत तथा ऋण मिलान कार्यमा शुल्कका रुपमा मिलान रकमको १०% (प्रतिशत) सम्बन्धित सहकारीको बैंक खातामा दाखिला गराउने गरिएकोमा उक्त कार्यलाई कार्यालयले पैसा उठायो भन्ने कपोकल्पित प्रचार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त रकम सम्बन्धित सहकारीको खातामा स्वयं बचतकर्ताले नै जम्मा गर्ने गरेको तथा उक्त रकम विशुद्ध रुपमा मिलान नभएका वचतकर्ताको वचत रकम फिर्ताका लागि प्रयोग गर्ने गरिएको छ । वचत फिर्ता बाहेक उक्त रकम अन्य कार्यमा खर्च भएको छैन र भविष्यमा पनि गरिने छैन ।’

जग्गा मिलानबाट हालसम्म कुनै पनि ऋण वा दायित्व परिवर्तन नगरिएको समितिले भनेको छ । स्थापनादेखि समितिले आर्थिक वर्ष (आव) २०८०/८१ असार मसान्तसम्म करीब ६ वर्षको अवधिमा ८३ करोड ६५ लाख २० हजार ८ सय ७४ बचत फिर्ता÷मिलान गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, समितिले आव २०८१/८२ को असार मसान्तसम्म जम्मा ३ हजार ६८९ जना मागदावीकर्ताको सम्पूर्ण रकम मागदावी फिर्ता गरेको छ । सो अवधिमा ५६ हजार १०६ सहकारीले पहिलो चरणमा मागदावी गरेका वचतकर्ताहरुलाई ३५ करोड ८२ लाख ८ हजार १२८ रुपैयाँ आंशिक रुपमा फिर्ता गर्ने प्रकृया चलिरहेको र ३ अर्ब २९ करोड ८४ हजार ७८० वचत रकम मिलान तथा दामासाहिले हुन आउने रकम बैंक मार्फत नगद वितरण गरिएको समितिले जनाएको छ ।

समितिले विज्ञप्तिमार्फत भनेको छ, सञ्चालक, व्यवस्थापक तथा लेखा समितिका सबै सदस्यको चल अचल सम्पत्ति रोक्का गरिनुका साथै ऋण तिर्न बाँकी ११ हजार ऋणीको समेत बैंक खाता तथा चल अचल सम्पत्ति रोक्का गरिएको छ । बाँकी ऋणीको समेत बैङ्क खाता तथा सम्पत्ति रोक्का राख्ने प्रक्रियालाई निरन्तरता दिइएको छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस