काठमाडौं, ५ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को सुरुवातदेखि नै ओरालो लागेको घरजग्गाको कारोबार कात्तिकमा भने केही सुधार देखिएको छ । गत असोजको तुलनामा कात्तिकमा घरजग्गा कारोबार २१ दशमलव ५३ प्रतिशतले बढेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कका अनुसार चालू आवको कात्तिकमा २८ हजार ३८३ वटा घरजग्गाको लिखत पारित भएको छ । अघिल्लो महिना असोजमा यस्तो कारोबार २३ हजारमा खुम्चिएको थियो । साउनमा ३१ हजार ६२१ लिखत पारित भएका थियो भने भदौमा २७ हजार ४९४ वटा घरजग्गाको कारोबार भएको थियो ।

चालू आवको साउनदेखि नै कित्ताकाट रोक्का हुँदा घरजग्गा कारोबार सुस्त भएको थियो । कात्तिक अन्तिम साता सरकारले ’भू–उपयोग नियमावली, २०७९’ लाई तेस्रोपटक संशोधन गर्दै भू–उपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ जारी गरेको छ । यस सँगै जग्गा कित्ताकाट खुलेको छ, तर नियमावलीले जग्गाको कित्ताकाट, वर्गीकरण र उपयोगमा भने केही परिवर्तन गरेको छ ।
निरन्तर घट्दै राजस्व संकलन
कात्तिकमा कारोबारमा केही सुधार जस्तो देखिए पनि यसबाट प्राप्त हुने आम्दानी भने घटेको छ । कात्तिकमा देशभरका मालपोत कार्यालयबाट २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । गत असोजमा २ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । साउन यता नै यसबाट हुने आम्दानी निरन्तर घट्दो छ ।
कात्तिकमा सेवा करबाट २१ करोड ३४ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर १ अर्ब ५० करोड र पुँजीगत लाभकरबाट ९९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका अनुसार कात्तिकमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले ३२ करोड ७० लाख ७५ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । मालपोत कार्यालय लगनखेलपछि धेरै राजस्व संकलन गर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार रहेको छ यस कार्यालयले कात्तिकमा घरजग्गा कारोबारबाट २८ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय भरतपुरले १९ करोड ४४ लाख, मालपोत कार्यालय कलंकीले १८ करोड ५२ लाख, मालपोत कार्यालय चाबहिलले १५ करोड ७४ लाख, मालपोत कार्यालय कास्कीले ८ करोड ६३ लाख र रुपन्देहीले ६ करोड ५७ लाख राजस्व संकलन गरेको छ ।