काठमाडौं, ७ मंसिर । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई प्रारम्भिक शेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ ।
कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको कुल २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
आयोजना प्रभावित क्षेत्र-सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का बासिन्दालाई कुल स्थानीय भागको ४० लाख कित्ता शेयर उपलब्ध हुनेछ । बाँकी ६० लाख कित्ता भने यी वडाबाहेकका अन्य प्रभावित स्थानीयहरूका बीच वितरण गरिनेछ ।
यस्तै विदेशमा श्रम स्वीकृतिसहित रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर जारी गर्न लागिएको छ ।
न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।