काठमाडौं, ७ मंसिर । चालू आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा मेची भन्सारबाट ४ अर्बको अलैँची बाहिरिएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार गत कात्तिक मसान्तसम्ममा ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँको अलैँची बाहिरिएको छ, जुन १ हजार ८२३ टन हो । परिणामका आधारमा गत आवको ४ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव २ प्रतिशत बढी हो । गत आवको कात्तिकसम्ममा यो भन्सारबाट १ अर्ब ९० करोड २ लाख रुपैयाँ बराबरको १ हजार २०५ टन अलैँची निर्यात भएको थियो । यद्यपि मूल्य र परिमाण दुवैले अलैँचीको निकासी बढेको देखिन्छ ।
यसैगरी परिणामका आधारमा गत आवको ४ महिनाको तुलनामा चालू आवको सोही अवधिमा चिया निर्यात ४१ दशमलव ८४ प्रतिशतले घटेको छ । गत कात्तिकसम्ममा १ अर्ब ३७ करोड ३० लाख रुपैयाँ बराबरको ४६ लाख ८८ हजार ९३२ किलोग्राम (केजी) चिया निर्यात भएको छ भने गत वर्षको यसै अवधिमा २ अर्ब २० करोड ४८ लाख बराबरको ८० लाख ६२ हजार १६४ केजी निर्यात भएको थियो ।
२०८२ को कात्तिकसम्ममा मेची भन्सारले २३ अर्ब ९८ करोड १२ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमध्ये १६ अर्ब २ करोड ५ लाखको आयात हुँदा ७ अर्ब ९६ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको सो अवधिमा २२ अर्ब ५९ करोड १५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।