काठमाडौं, ७ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८२८३ को चार महिनामा ७ खर्बभन्दा बढीको वैदेशिक व्यापार गरेको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालू आवको कात्तिक मसान्तसम्ममा ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २४ दशमलव १८ प्रतिशतले बढी हो । गत आवको चार महिनामा नेपालले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँको व्यापार गरेको थियो ।
चालू आवको चार महिनामा ७ खर्बको वैदेशिक व्यापार गर्दा सवा ५ खर्बभन्दा बढी घाटा बेहोरेको छ । सो अवधिमा नेपालले ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको कात्तिकसम्मको तुलनामा ११.९९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपाल वैदेशिक व्यापारमा ४ खर्ब ६० अर्ब रुपैयाँको घाटामा थियो ।
घट्यो आयात
चालू आवको साउनयता उकालो लागिरहेको आयात भने कात्तिकमा ब्रेक लागेको छ । कात्तिकमा १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड र साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत आवको कात्तिको तुलनामा भने यस वर्ष आयात १८ दशमलव ७१ प्रतिशतले बढेको छ । गत आवको कात्तिकममा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएकोमा यस वर्षको सोही महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यसैगरी, कात्तिकमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७७ दशमलव ५१ प्रतिशतले बढी हो । गत आवको चार महिनामा ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।