काठमाडौं, १० मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट गरेको आयात साढे ५ गुणाले बढेको छ ।
भन्सार विभागका तथ्याङ्कअनुसार चालू आवको चार महिनामा नेपालले यूएईबाट २२ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत आवको कात्तिकसम्मको तुलनामा ५६३ दशमलव ७५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको मात्रै आयात गरेको थियो ।
यूएईबाट नेपालले चालू आवको कात्तिकसम्ममा सबैभन्दा धेरै सुन आयात गरेको छ । सो अवधिमा नेपालले यूएईबाट १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको ९०२ किलो सुन आयात भएको छ । गत आवको ४ महिनामा ३८ करोडको मात्रै सुन आयात भएको थियो ।
सुनपछि नेपालले यूएईबाट सबैभन्दा ३० करोड ३४ लाख मूल्य बराबरको १४ हजार ६६० किलो सिल्भरको धुलो आयात गरेको छ । त्यस्तै, १० करोड २९ लाख रुपैयाँको स्नेहनको तेल, २ करोडको चाँदी आयात गरेको छ । सुनको आयात बढ्दा समग्रमा यूएईबाट गरिने आयात बढेको देखिन्छ ।
यता, नेपालले यूएईतर्फ गरेको निर्यात भने गत वर्षको तुलनामा ३.२७ प्रतिशतले मात्रै बढेको छ । गत आवको कात्तिकसम्ममा ६४ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात गरिएको थियो भने चालु आवको यसै पअवधिमो ६६ करोड ६० लाख रुपैयाँ बरावरको वस्तु निकासी गरेको छ ।
आयात उल्लेख्य बढ्दा निर्यात बढ्न नसक्दा यूएईसँगको व्यापार घाटा करिब ७ गुणाले बढेको छ । गत वर्ष नेपाल यूएईसँग २ अर्ब ७० करोड ३६ लाख रुपैयाँ घाटामा रहेकोमा यस वर्ष यस्तो रकम बढेर २१ अर्ब ५६ करोड ५ लाख रुपैयाँ पुगेको छ ।