काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबारदेखि नयाँ डिजाइनको एक सय रुपैयाँ दरका नोट सार्वजनिक गर्दै प्रचलनमा ल्याएको छ ।
नयाँ नोटमा बायाँपट्टि सगरमाथाको तस्बिर, दायाँपट्टि राष्ट्रिय फूल लालीगुराँसको वाटरमार्क (पानी छाप) राखिएको छ । यसैगरी बीच भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्सा तथा अशोक स्तम्भको चित्र अंकित गरिएको छ । साथै दृष्टिविहीन व्यक्तिले स्पर्श गरेर नोट चिन्न सकून् भनी एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ ।
नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर समेटिएको छ । राष्ट्र बैंकका अनुसार यी नोटहरूको संकेत नम्बर २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहनेछ । नोटमा ‘नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० (एक सय) तुरुन्त पाइनेछ’ भन्ने वाक्य समेत उल्लेख गरिएको छ ।