काठमाडौं, १५ मंसिर । घर–जग्गा कारोबारसँग सम्बन्धित इजाजतपत्रका लागि फर्म, कम्पनी वा संस्थाले बुझाउने आवेदनको समयसीमा भूमि व्यवस्था तथा अभिलेख विभागले थप गरेको छ । विभागले अब मंसिर २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
यसअघि विभागले असोज १३ गते सार्वजनिक सूचना जारी गर्दै आवेदक बोलाएको थियो । मालपोत ऐन, २०३४ अनुसार घर–जग्गा कारोबार गर्न चाहने कम्पनीले अनिवार्य रूपमा सरकारी इजाजत लिनुपर्ने व्यवस्था छ । सोही आधारमा सरकारले राजपत्रमार्फत कारोबार गर्न पाउने क्षेत्रसमेत तोकेको थियो ।
विभागका अनुसार पहिलो चरणमा महानगर र उपमहानगरलाई कार्यक्षेत्रका रूपमा छुट्याइएको छ । एकैपटक तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरी दर्ता प्रक्रियामा सहभागी हुन चाहने फर्म, कम्पनी वा संस्थाले आवेदन दिन पाउने व्यवस्था छ । विभागले कारोबार प्रणालीलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउन दर्ता प्रक्रिया अघि बढाइएको जनाएको छ ।
गत शुक्रबारदेखि लागू हुने गरी म्याद थपिएको विभागले जनाएको छ । अहिले पहिलो चरणमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकाभित्र घर–जग्गा कारोबारलाई व्यवस्थित गर्ने लक्ष्य राख्दै कम्पनी दर्ता अघि बढाइएको छ । विभागका अनुसार पहिलेको सूचनामा अपेक्षित संख्यामा आवेदन नपरेको कारण म्याद थपिएको हो ।
