अब ५ लाखमाथिको नगद कारोबार गर्न नपाइने

अनलाइनसमय |
१६ मंसिर २०८२
अब ५ लाखमाथिको नगद कारोबार गर्न नपाइने

काठमाडौं, १६ मंसिर । सरकारले माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । मन्त्रिपरिषद्को हालैको बैठकले यस्तो निर्णय गर्दै नगद कारोबारको हाल कायम १० लाखको सीमा घटाएर ५ लाख रुपैयाँमा झारेको हो ।

सरकारका प्रवक्ता तथा सूचना, विज्ञान तथा प्रविधि मन्त्री जगदिश खरेलका अनुसार वित्तीय प्रणालीलाई अझ व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन नगद कारोबारमा कडाइ गरिएको हो । ठूलो परिमाणको नगद लेनदेनबाट कर छल्ने, धन शुद्धीकरण, अवैध कारोबार तथा अनियन्त्रित नगद प्रवाह बढ्ने जोखिम रहेकाले सीमा घटाइएको जनाइएको छ ।

नयाँ व्यवस्था लागू भएपछि ५ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवाको खरिद–बिक्री, ठूला भुक्तानी, अग्रिम रकम, ठेक्का सम्बन्धी कारोबारलगायत सबै कारोबार अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ ।

अब यस्ता कारोबारमा नगदको सट्टा बैंक चेक, खातामा भौचर, अनलाइन ट्रान्जेक्सन, मोबाइल तथा इन्टरनेट बैंकिङ, क्यूआर कोड जस्ता आधुनिक भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस