१२ गुणाले बढ्यो अमेरिकासँगको व्यापार घाटा

अनलाइनसमय |
१७ मंसिर २०८२
१२ गुणाले बढ्यो अमेरिकासँगको व्यापार घाटा

 

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/८२ को कात्तिकसम्मको तुलनामा नेपालको अमेरिकासँगको व्यापार घाटा १२ गुणाले बढेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको कात्तिकसम्ममा नेपालको अमेरिकासँग २ अर्ब ९० करोड ४८ लाख रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १२२४ दशमलव ८५ प्रतिशतले बढि हो । गत आवको चार महिनामा नेपालले अमेरिकासँग २१ करोड ९२ लाख रुपैयाँको मात्रै घाटा बेहोरेको थियो ।

त्यसभन्दा अघिल्लो आव २०८०/८१को कात्तिकसम्ममा अमेरिकासँग नेपाल १ अर्ब ९७ करोड र आव २०७९/८० को सोही अवधिमा ९२ करोड १४ लाख रुपैयाँको व्यापार बचतमा थियो ।

चालू आवमा अमेरिकाबाट हुने आयात बढ्दा निर्यात भने घटेको छ । गत आवको चार महिनाको तुलनामा यस वर्षको यसै अवधिमा अमेरिकाबाट हुने आयात ४१ दशमलव ०९ प्रतिशतले बढेको छ ।

चालू आवकोकात्तिकसम्ममा अमेरिकाबाट ८ अर्ब ८७ करोड ९१ लाख मूल्य बराबरको वस्तु आयात गरिएको छ । गत आवको सोही अवधिमा त्यहाँबाट ६ अर्ब २९ करोड ३० लाखको मात्रै वस्तु आयात गरिएको थियो ।

त्यस्तै, निर्यात भने गत वर्षको तुलनामा १ दशमलव ६३ प्रतिशतले घटेको छ । गत आवका कात्तिकसम्ममा अमेरिकातर्फ ६ अर्ब ७ करोडको वस्तु निर्यात गरिएकोमा यस वर्षको यसै अवधिमा ५ अर्ब ९७ करोडको मात्रै वस्तु त्यसतर्फ निर्यात गरिएको छ ।

अमेरिकाबाट विमान तथा हवाईजहाजका पार्टपुर्जा, प्रोपेलर, पिस्टन इन्जिन, हवाई उपकरण, कम्प्युटर सर्भर, सफ्टवेयर म्यानुअल, प्रयोगशाला÷डायग्नोस्टिक रेएजेण्ट, एलेक्ट्रिक कार, मुटुमा राखिने स्टेन्ट र भल्भ, नेत्र उपचारका उपकरण, औद्योगिक कच्चा पदार्थ, बादाम, सोयाबिनलगायतका वस्तु आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, नेपालबाट अमेरिकातर्फ ऊन वा सुक्ष्म जनावरको रेशमबाट बनेका गाँठो लगाइएका कार्पेट, कुकुर वा बिरालोको खाना, कपासको पाइन्ट, ब्रिचेस, कश्मिर वस्तुहरू, गिलास–सिरेमिक वस्तुहरू, सङ्गीत वाद्ययन्त्रलगायतका वस्तु निर्यात हुँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस