के हो बचतपत्र ? वैदेशिक बचतपत्रमा लगानीको अवसर र लाभ (भिडियो रिपोर्ट)

अनलाइनसमय |
२० मंसिर २०८२
के हो बचतपत्र ? वैदेशिक बचतपत्रमा लगानीको अवसर र लाभ (भिडियो रिपोर्ट)

काठमाडौं, २० मंसिर । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘नागरिक बचतपत्र–२०८७’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासनमा ल्याउँदै छ । यी दुई बचतपत्रको विक्री खुलाइएकोमा नागरिक बचतपत्रमा निर्धारित समय अगावै निष्कासन रकमसम्मको आवेदन परेपछि उक्त बचतपत्रको विक्री बन्द भएको छ ।

कार्यालयले दुई अर्ब ५० करोडबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न लागेको हो । ५ वर्ष अवधिका यी दुवै बचतपत्र मङ्सिर २८ गते निष्कासन गरिँदै छ । यसअघिको तथ्यांक हेर्दा नागरिक बचतपत्र शतप्रतिशत विक्री हुँदा वैदेशिक रोजगार बचतपत्रमा भने न्यून मात्र आवेदन पर्ने गरेको छ ।

हुन पनि ‘बचतपत्र के हो ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा धेरैलाई जानकारी छैन । नेपालमा प्रायः लगानीका लागि धेरैले पूँजीबजार, घरजग्गा, सुनचाँदी, मुद्दती निक्षेपजस्ता विकल्प रोज्ने गरेका छन् ।

बचतपत्रलाई लगानीका अन्य विकल्पभन्दा सहज र सुरक्षित उपकरण मानिन्छ । जसमा लगानीको प्रतिफल स्थिर हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सकिन्छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने बचतपत्र धितोपत्रका रूपमा जारी हुन्छन् । यसलाई दोस्रो बजारमा कारोबार किनबेच गर्न सकिन्छ । बचतपत्रधारकले बेच्न चाहेका बेला बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले सहजै तरलतामा रूपान्तरण गर्न सकिन्छ ।

वैदेशिक रोजगार बचतपत्र वैदेशिक रोजगारीमा रहेका वा फर्केको ६ महिना पुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यका नाममा पनि खरीद गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डीओएमएस प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यसको खरीदका लागि आवेदन दिन सकिन्छ । वैदेशिक रोजगार बचतपत्रमा आकर्षण बढाउन वित्तीय साक्षरताकै खाँचो देखिएको छ ।

यही मङ्सिर २८ गते निष्कासन हुने नागरिक बचतपत्रमा ६.५ र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत ब्याजदर रहेको छ, जुन हरेक ६÷६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा जम्मा हुनेछ । वैदेशिक रोजगार बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमसम्म १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ ।

यस्तो छ बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस