काठमाडौं, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन् । दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी भएका छन् ।
भेला बुधबारसम्म चल्नेछ । पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।
सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेस हुनेछ ।
यस्तै भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी, विधान संशोधनलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।