काठमाडौं, १ असोज । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति पार्टीको घोषणा गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि सबै अधिकार महतोलाई नै दिइएको छ । गत फागुनदेखि उनले मुक्ति क्रान्ति भन्दै अभियान चलाइरहेका थिए ।
उनले जारी गरेको विज्ञप्तिमा मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशासमेत तय गरिएको छ । ‘मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यसभन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका माग र मुद्दालाई देश, जनताको अगाडि औपचारिक रूपले अल्टिमेटमसहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै तत्काल नै अभियानलाई पार्टीको रूपमा रुपान्तरण गर्नेगरी राष्ट्रिय मुक्ति क्रान्तिको १ असोजमा बसेको राष्ट्रिय समितिको बैठकले राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।